फाइल तस्वीर
काठमाडौँ, जेठ १४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको आरोप लगाउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस इकाई समितिले आज सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै नेता कोइरालाले यस्तो आरोप लगाउनुभएको हो ।

काङ्ग्रेस नेता कोइरालाले प्रतिपक्षका कुरा नसुनेर अगाडि बढिरहेको सत्तापक्षले उल्टै काङग्रेसलाई संसदीय व्यवस्थाबारे सिकाउन खोज्नु शोभनीय नभएको बताउनुभयो । “संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरा सुन्दै नसुनी अगाडि बढ्न खोजेको छ”, डा कोइरालाले भन्नुभयो,“काङग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन पर्दैन । काङग्रेस आफ्नो अडानमा अडिग छ ।”

नेता डा कोइरालाले सहकारीको रकम अपचलनका विषयमा काङ्ग्रेसले उठाएको संसदीय छानबिन समिति गठनको माग छिटो सम्बोधन गरेर संसद्को गतिरोध अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभयो । “काङ्ग्रेसलाई सरकारमा जाने हतारो छैन । हामी सत्ताभन्दा देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा स्पष्ट छौँ । त्यही नीतिअनुसार सहकारीको रकम हिनामिना हुँदा सरकार गम्भीर नभएकाले आफ्नो आवाज राखिरहेका छौँ”, उहाँले भन्नुभयो ।

नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएकाले राज्यले आयुर्वेदिक विज्ञान क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्नेमा डा कोइरालाको जोड थियो ।