फाइल तस्वीर, महामन्त्री विश्वप्रकाश शर्मा ।


काठमाडौँ, जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाबारे काङ्ग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न चेतावनी दिनुभएको छ । सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज राजधानीमा विरोध प्रदर्शनी पछिको सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो चेतावनी दिनुभएको हो ।

सभामा पार्टी महामन्त्री उहाँले भन्नुभयो, “काङ्ग्रेसलाई लोकतान्त्रिक दल हो वा होइन भन्नु आमाको अघि उभिएर मावलीको बयान गरे जस्तै हो । काङग्रेसलाई लोकतन्त्रवादी र अलोकतान्त्रिक भनी प्रश्न गर्नेसँग हामी सहमत हुँदैनौँ ।”

अन्यायमा परेका निमुखा तथा श्रमजीवी नागरिकको मुद्दालाई पार्टीले गहन ढङ्गले उठाउँदै आएको बताउँदै उहाँले काङग्रेसमाथि लगाइएको अलोकतान्त्रिकको आरोप आफूहरुलाई सह्य नहुने प्रतिक्रिया दिनुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “सरकार प्रतिपक्षलाई हेर्ने अहिलेको व्यवहारबाट सच्चिनुपर्छ, सभामुख स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, सहकारी प्रकरणमा संलग्नमाथि निष्पक्ष संसदीय छानविन हुनुपर्छ ।”

नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बाँनिया र काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलगायतले सहकारीको बचत अपचलनमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन पार्टीले उठाउँदै आएको संसदीय छानविनको माग गर्नुभयो ।

नेपाली काङग्रेस काठमाडौँ महानगरपालिकाका विभिन्न वडाबाट आएको जुलुस प्रदर्शनी मार्गमा पुगेर आमसभामा परिणत भएको थियो । विरोधसभामा काङ्ग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, कार्यकर्ता तथा भातृ संस्थाका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

काङ्ग्रेसले सहकारी प्रकरणमा संसदीय छानविनको माग गर्दै निरन्तर नाराबाजीका साथ संसद् अवरुद्ध गर्दै आएको छ ।