दमौली जेठ १३ गते । तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा गत साता भएको आगलागीबाट पीडित भएकाहरुलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले) का सचेतक भगवती न्यौपानेले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिनुभएको न्यौपानेले जानकारी दिनुभयो । एमाले सचेतक न्यौपानेले भन्नुभयो, “आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु । उहाँबाट सकारात्मक जवाफ आएको छ ।”

न्यौपानेले शनिबारमात्रै दमौलीमा पीडितसँग भेटेर सरकारसमक्ष कुरा पु¥याउने प्रतिबद्धता जनाउनुभएको थियो । गत सोमबार बिहान १२ः४५ बजे आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका यहाँका २१ व्यवसायिक सटर पूर्णरूपमा जलेका थिए । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

त्यसक्रममा छ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपैयाँ बरावरको क्षति भएको व्यास नगरपालिकाले गठन गरेको समितिले जनाएको छ । आगलागीका क्रममा थोरै तीन लाख दश हजारदेखि एक करोड १५ लाख रुपैयाँसम्म क्षति भएको छ । सबैभन्दा बढी इमेज मोबाइलको एक करोड १५ लाख रुपैयाँ र रक्सी बिक्रेताको एक करोड १५ लाख रुपैयाँ बरावरको क्षति भएको नगरपालिकाले गठन गरेको समितिका संयोजक एवम् वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो ।