फाइल तस्वीर

काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोध र नाराबाजीकैबीच आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको हो ।

यद्यपि, प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरिरहेको छ भने सभामुख देवराज घिमिरेले सांसद्हरुको विरोधकोबीचमा पनि सदनको कार्यसूची अघि बढाउनुभएको छ ।

सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गर्नुभएको छ । सभामुख घिमिरेले विभिन्न संशोधनकर्ताहरूलाई आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल अघि बढाउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस सांसदहरुको अवरोध र नारावाजीकाबीच अर्थमन्त्री वर्षमान पुनले संसद् बैठकमा आर्थिक वर्ष २०८०÷०८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गर्नुभएको थियो ।