वरिष्ठ पत्रकार कोमलनाथ बराल ।
काठमाडौँ, जेठ १३ गते । यस वर्षको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कोमलनाथ बराललाई प्रदान गरिने भएको छ । पूर्वराजदूत तथा ‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक युवनाथ लम्साल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का र पत्रकार दीपेन्द्र रावलको निर्णायकमण्डलले रु २५ हजार राशिको पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष बराललाई प्रदान गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।

बुबा पूर्णदीप बराल र आमा मनमाया बरालका ७६ वर्षीय छोरा कोमलनाथ बराल कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं २६ मा जन्मिनुभएको हो । जनादेश साप्ताहिकका पूर्वसम्पादक बरालले विसं २०५६ मा राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट पत्रकारिता सुरू गर्नुभएको थियो । उहाँ राससको दुई कार्यकाल अध्यक्ष हुनुभएको थियो । उहाँ हाल प्रेस सेन्टर नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार हुनुहुन्छ । बरालले कृष्ण सेन ‘इच्छुक’सँग जनादेशको सम्पादकमा रहँदा सहकार्य गर्नुभएको थियो ।

यसैगरी ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार धमेन्द्र कर्णलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार र समयबोध साप्ताहिकका सम्पादक ५७ वर्षीय कर्ण जनकपुरधाम उपहानगरपालिका वडा नं १० मा जन्मिनुभएको हो । बाबु निर्भय शङ्कर लाल कर्ण र आमा प्रभावतीदेवी कर्णका छोरा कर्णले विसं २०३६ देखि पत्रकारिता सुरू गर्नुभएको थियो ।

यस वर्षको ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मन्जिमा ढकाललाई प्रदान गर्ने निर्णय भएको सेन्टरका महासचिव पौडेलले जानकारी दिनुभयो । पत्रकार ढकाल हाल प्रेस सन्टर नेपालको गोरखापत्र शाखाको अध्यक्ष र सञ्चारिका समूह नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका बुबा राजेन्द्र ढकाललाई विसं २०५५ मा राज्यद्वारा बेपत्ता पारिएको थियो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । पुरस्कार प्रेस सेन्टर नेपालको स्थापना दिवसका दिन आगामी माघ १५ गते प्रदान गरिनेछ ।