फाइल तस्वीर
काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाल काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । सहकारी गठी प्रकरणको छानविनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री प्रचण्ड र काङग्रेस सभापति देउवाबीचको छलफल काङ्ग्रेसकै हठका कारण निष्कर्षविहिन भएको हो ।

प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेस सभापति देउवासँग गर्नुभएको भेटमा सहकारी समस्या समाधान र संसद्को गत्यावरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न देउवालाई आग्रह गर्नुभएको थियो । देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित काङ्ग्रेस नेताहरूबीचको छलफल पनि विना निष्कर्ष सकिएको काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी गराउनुभएको हो ।

देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताउनुभएको थियो । तर प्रधानमन्त्रीको उक्त प्रस्तावलाई काङ्ग्रेसले अस्वीकार गरेको नेता परियारले बताउनुभयो । नेता परियारले भन्नुभयो — ‘गोरखा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन । कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू को को हुन् भन्ने पनि उल्लेख नगरी छानविन अगाडि बढ्न सक्दैन भन्ने हाम्रो अडान यथावत् छ ।’

सरकारले आज संसदबाट नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ । यता प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसले भने संसद्मा अवरोध गर्ने कुरालाई निरन्तरता दिने जनाएको छ ।

काङग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम राख्न चाहनुको अडान नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिने र सरकारलाई असजिलो बनाएर अल्पमतमा पार्ने रणनीतिमा देखिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम नै किटान गरेर जानु पर्ने उसको अडान नै सरकार परिवर्तन गर्ने काङ्ग्रेसको रणनीति भित्रको कुटनीति हो । छानविन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम उल्लेख गरेमा सरकार ढल्ने काङ्ग्रेसको ठम्याइ छ । त्यसै कुनैपनि हालतमा गृहमन्त्री लामिछानेको नाम कार्यादेशमा राख्नुपर्ने उसको अडान कायम छ ।