प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवा ।


काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको छ । संसद्मा देखिएको लामो गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नुभएको हो ।

सहकारी ठगी प्रकरणलाई लिएर नेपाली काङ्ग्रेसले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ । काङ्ग्रेसको माग अनुसार सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटाउने प्रयास अहिलेसम्म सार्थक हुन सकेको छैन । यसै विषयलाई लिएर आज बिहान ९ बजे बस्ने भनिएको शीर्ष नेताहरुको बैठक पनि बस्न सकेको छैन । यसैबीच प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदीय दलका नेता समेत रहनुभएका देउवासँग छलफल गरी तार्किक निष्कर्षमा पुग्न बुढानिलकण्ठ जानुभएको हो ।

समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुङ्गो लाग्न नसक्दा राष्ट्रिय राजनीतिमा थप जटिलता थपिंदै गएको छ । सत्ता पक्ष र प्रतिपक्षीबीच सहमतिको नजिक पुगेको भनिएता पनि अहिलेसम्म सकारात्मक कुरा बाहिर आउनु सकेको छैन ।

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनाएसम्म संसद् चल्न नदिने काङ्ग्रेसको अडान अढाइ महिनादेखि कायम छ । काङ्ग्रेसले हिउँदे अधिवेशनेदेखि नै लगातार सङ्घीय संसद्को बैठक अवरुद्ध गर्दै आएको छ ।