फाइल तस्वीरः राष्ट्रियसभा बैठक ।
काठमाडौँ, जेठ १३ गते । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक आज आइतबार बिहान साढे ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको हो ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट गत जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसदहरुद्वारा उठाइएका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रियसभा अध्यक्षले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले आज दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पास गर्ने र पर्सी मङ्गलबार १५ गते बजेट सार्वजनिक गर्ने छ ।

प्रतिनिधिसभाको बैठक पनि आजै ११ बजेका लागि तय गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको निरन्तर संसद् अवरोधका कारण जेठ १ गते संसदको संयुक्त बैठकमा पेश भएको सरकारको आगामी नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन । सहकारी ठगी प्रकरणका संसदीय छानविन समिति गठनको कार्यादेशमा दलहरुबीच अहिले बिहान सहमति जुटेमा आज दुवै सदनबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास हुने सम्भावना छ ।