फाइल तस्वीर


काठमाडौँ, जेठ १३ गते । सर्वसाधारण जनताले सहकारीमा जम्मा गरेको रकम हिनामिना भएको सम्बन्धमा छानविन गर्न बनाइने संसदीय छानविन समितिको कार्यादेशको टुङ्गो लगाउन शीर्ष नेताहरुको बैठक बस्दैछ ।

हिजो शनिबार दिउँसो सिंहदरवारमा बसेको कार्यदलको बैठक ठोस सहमतिमा पुग्न नसकेपछि संसदीय छानविन समितिको कार्यादेशको टुङ्गो लगाउन अहिले बिहान ९ बजे तीन ठूला दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाल काङ्ग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा बसेर छानविन समितिको टुङ्गो लगाउने तयारी छ ।

कार्यदलको हिजो बसेको बैठकमा छानविन समितिको कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने तर उहाँ जोडिएका सहकारी संस्था र कम्पनी (गोरखा मिडिया) को नाम उल्लेख गर्ने सम्बन्धमा भने कार्यदलमा सहमति भएको थियो ।

सिंहदरबारमा बसेको कार्यदलको बैठक सकेर व्रिफिङ र सहमतिको लागि अन्तिम टुङ्गोमा पुग्न हिजो शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसेको थियो । हिजोको बैठकमा काङग्रेसबाट पार्टी उपसभापति पूर्णबहादुर खड्का, नेताहरु ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारको उपस्थिति थियो । तर शीर्ष नेतृत्वको बैठकले पनि ठोस निर्णय गर्न नसक्दा आज बिहानका लागि बैठक तय गरिएको छ ।