फाइल तस्वीर ।


काठमाडौं जेठ १२ गते । सहकारी ठगी प्रकरणको छानविन गर्न बनाइएने संसदीय छानविन समितिको कार्यादेशमा दलहरुबीच सहमति जुट्न सकेन । आज दिउँसो बसेको कार्यदल र साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुसहित बसेको बैठकमा समेत दलहरुबीच सहमति जुट्न नसकेको हो ।

केहीबेर अघिमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकको छलफल सकारात्मक भए पनि भोलि आइतबार बिहान शीर्ष नेताहरू बसेर टुङ्गोमा पुग्ने कार्यदलका सदस्य एवम् नेपाली काङ्ग्रेसका सांसद जीबन परियारले बताउनुभयो ।

शीर्ष नेताहरुको बैठक भोलि आइतबार बिहान ९ बजे बसेर टुङ्ग्याउने भनिएको छ । यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउनेरी छलफल भएको थियो ।

बालुवाटारमा साँझ बसेको बैठकमा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा जानुभएन । पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, सांसद परियार, ज्ञानेन्द्र बहादुर कार्की लगायत बैठकमा सहभागी हुनुहुन्थ्यो । दुवै पक्षको हठका कारण आज पनि सहमति जुट्न सकेन ।

भोलि बिहान ९ बजे सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बसेर छलफल हुने बताइएको छ ।