पूर्वसभामुख अग्निप्रसाद सापकोटा ।


काठमाडौँ, जेठ १२ गते । प्रतिनिधिसभाका पूर्वसभामुख एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।

आज शनिबार काठमाडौँमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठन बागमती प्रदेश समिति, काठमाडौँको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नेक्रममा पूर्वसभामुख सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको खुलासा गर्नुभएको हो ।

पार्टी प्रवक्ता समेत रहने भएका माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले संसदमा हुने बहस, छलफल, शब्द चयन स्तरहीन, मर्यादाहीन भएको बताउनुभयो । संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भए पनि संसदमा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुन नसकेको भन्दै अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको उल्लेख गर्दै पूर्वसभामुख सापकोटाले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको दावी समेत गर्नुभयो ।

देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको भन्दै माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले देशमा विचारहीनको स्थिति सिर्जना भएको हुँदा अराजकता बढेको बताउनुभयो ।