कार्यदलको बैठकको फाइल तस्वीर ।

काठमाडौँ, जेठ १२ गते । संसदीय छानविन समितिको क्षेत्राधिकारको कार्यादेश (टीओआर) टुङ्गो लगाउन कार्यदलको बैठक सुरु भएको छ । आज शनिबार बसिरहेको कार्यदलले समितिको क्षेत्रधाधिकारको कार्यादेशलाई अन्तिम टुङ्गोमा पुर्याउन बैठक बसेको हो ।

कार्यदलका सदस्यहरुले आजकै बैठकबाट सहमति हुने बताउनुभएको छ । संसदीय छानविन समिति गठन गरी सङ्कटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलको टोली सहमत छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछानेको नाम टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली काङ्ग्रेसले गृहमन्त्रको नाम उल्लेख गर्नैपर्ने अडान राखेको छ ।

यद्यपि, हिजो शुक्रबार बसेको बैठकमा काङ्ग्रेस केही लचक देखिएको छ । गृहमन्त्रीको नाम उल्लेख नगरी तत्तत् सहकारीको नाम राख्नु पर्ने काङ्ग्रेसले माग गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली काङग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट सोही पार्टीका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य हुनुहुन्छ । यो कार्यदलको सहमति गरेपछि आजै शीर्ष नेताहरुसँग बसेर सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
आज संसदीय छानविन समितिको क्षेत्राधिकारमा सहमति जुटेमा भोलि बस्ने संसद् बैठक सुचारु हुनेछ । संवैधानिक व्यवस्था अनुसार सरकारले १५ गते मङ्गलबार आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसद्मा प्रस्तुत हुनेछ । यदि काङ्ग्रेसले अहिले बसिरहेको कार्यदलको बैठकमा सहमति नगरे बजेट अध्यादेशबाट ल्याउन समेत सरकार तयारी अवस्थामा रहेको बताइन्छ ।