फाइल तस्वीर


काठमाडौँ, जेठ ११ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूबीच सहमति हुन सकेन । सहकारी ठगी प्रकरणका सम्बन्धमा आज शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बालुवाटार बैठक निष्कर्षविहिन अवस्थामै टुङ्गिएको हो ।

प्रमुख प्रतिपक्ष नेपाल काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै टीओआरमा सहमति जुट्न नसके पनि बैठकमा सकारात्मक छलफलभएको र अब छिट्टै सहमति जुट्ने विश्वास प्रकट गर्नुभयो ।

नेपाली काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ । काङ्ग्रेसको अवरुद्धका कारण संसद्मा सरकारको आगामी आर्थिक वर्षको लागि जेठ १ गते पेश गरिएको नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

सरकारले यही १५ गते आगामी आर्थिक वर्ष २०८१/०८२ को आय व्यय (बजेट) प्रस्तुत गर्दैछ । सरकार सकेसम्म सहमति जुटाएर संसदमा बजेट पेश गर्ने पक्षमा छ । तर विपक्षीको अवरोध कायमै रहेमा अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्ने योजना पनि सरकारले सोचिरहेको छ।