काठमाडौँ, जेठ ११ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससहितका विपक्षी दलहरूले अवरोध कायम राखेका छन् । प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले आज बैठकको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा हटाएर बैठक स्थगित गराउनुभएको हो ।


सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि शुक्रबार ११ बजेका लागि डाकिएको बैठक शुरु भएलगत्तै सभामुख घिमिरेले बैठकको शुन्य समय र विशेष समय नरहेको जानकारी गराउनुभएपछि सभामुख घिमिरे र प्रतिपक्षी दलका सांसदहरुबीच सवालजवाफ चलेको थियो । प्रतिपक्षी दलहरुले बोल्ने समय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । प्रतिपक्षीले जनताको कुरा राख्नुपर्ने भन्दै समय माग गरेपछि सभामुख र प्रतिपक्षी बिच केहीबेर भनाभनको स्थिति बनेको थियो ।

सहकारीको मुद्दामा सरकार र दलहरुबीच छलफल र सहमति भइरहेको भन्दै सभामुख घिमिरेले संसद् बैठक अगाडि बढाउन आग्रह गर्नुभएको थियो । तर, प्रतिपक्षी दलका सांसदहरुले विरोध जारी राखेपछि सभामुखले आजको बैठक स्थगित गर्दै अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जानकारी दिनुभयो ।