काठमाडौँ, जेठ ११ गते । सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिको टीओआर (कार्यादेश) मा सहमति जुटाउन कार्यदलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान साढे आठ बजेबाट सुरु हुने भएको हो ।


यसअघि हिजो बिहीबार अपहन्न सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुटाउन अधिकतम प्रयास गरे पनि सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको थियो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, टीओआरबाट थप छलफलका लागि आज शुक्रबार बिहान ८ः३० बजे पुनः बैठक बस्न लागेको हो । काङ्ग्रेसले सहकारीहरूको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै छानबिन समितिको माग राख्दै आएको छ ।
कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार रहनुभएको छ ।