फाइल तस्वीर: प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ — प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।


संसद सचिवालयद्वारा जारी सूचना अनुसार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिवक्षी दलको निरन्तर अवरोधका कारण संसद् बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

आजको बैठक सुचारु भएमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

आज शुक्रबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधिसभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ ।

संसद् सचिवालयका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रममाथि विभिन्न बुँदामा संशोधनको प्रस्ताव छुट्टाछुट्टै संशोधनको प्रस्ताव राख्नुभएको छ ।

नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने सांसदहरूलाई बैठक बस्नुभन्दा एक घण्टा अगावै नाम टिपाउन संसद सचिवालयले भनेको छ । त्यसक्रममा हुने छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुने छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा जेठ १ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल हुन नसकेता पनि आज छलफल भै पारित भएमा यसैको आधारमा सरकारले जेठ १५ गते मङ्गलबार संसदमा बजेट प्रस्तुत गर्नेछ ।
संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची

53535