काठमाडौँ, जेठ १० गते । गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा आज पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा रोट अर्पण गरिएको छ । रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उहाँको उत्पत्ति दिवसका अवसरमा रोट अर्पण गर्ने गरिन्छ । गुरु गोरखनाथको पहिलो प्रकटस्थलको सौभाग्य पाएकाले नै नेपाल अक्षुण्ण र स्वतन्त्र रहेको विश्वास गरिन्छ ।

नेपालका शक्तिशाली छिमेकी राष्ट्र पराधीन हुँदासमेत नेपाल सदा नै स्वाधीन रहनुको आध्यात्मिक कारण यही रहेको विश्वास गरिन्छ । प्राचीन कालमा नेपालीले गुरु गोरखनाथ र माता गोरखकालीको पुकार गरेर ठूला ठूला युद्ध जितेका र विश्वभरि नै वीर गोर्खालीको नामले प्रशंशित भएका उदाहरण पनि इतिहासका पानामा भेटिन्छन् । महायोगी गुरु गोरखनाथ समयको कालखण्डभन्दा माथि, नाथहरूका महानाथ, देश, काल, स्थानभन्दा धेरै माथिका अद्वितीय महापुरूष हुनुहुन्छ । श्री गुरु गोरक्ष अनादि, अजर अमर मानिनुहुन्छ । गुरु गोरखनाथले ब्रह्माजीलाइ समेत सृष्टि गर्न सघाउनुभएको धार्मिक विश्वास छ । 

 गुरु गोरखनाथ सृष्टिभन्दा पनि पहिले विराजमान हुनुहुन्थ्यो भन्ने मान्यता छ । हालसम्म पनि नेपालको मुद्रामा गुरु गोरखनाथको नाम तथा पादुका अंकित भएको पाइन्छ । नेपालीका गर्वका प्रतिमूर्ति महायोगी गुरु गोरखनाथकै कृपा आशीर्वादले नेपाली सेनाले बन्दुक र गोलावारीका बावजुद जय गोरख शब्द्सँगै शत्रुलाई खुकुरीले परास्त गर्न सक्षम भए । महायोगी गुरु गोरखनाथ शिव नै हुनुभएकोले शिव गोरक्षको रूपमा आदरका साथ श्रद्धा भक्ति र विश्वासको केन्द्र मानी पूजा आराधना गरिन्छ । 
   गोरखनाथ चारै युगमा सशरीर हुनुहुन्छ । अनेक महात्मा योगी राजा आदिलाइै समय समयमा मार्गदर्शन गरेका कुरा हामीले पढ्ने पनि गरेका छौँ । यस्ता महायोगीको बारेमा जान्नु र अरूलाई सुनाउनु सक्नु नै हाम्रो महानता हुनेछ ।   जय गोरख । जय गुरुदेव । अलख निरञ्जन । गोरखनाथ र रोट गोरखनाथलाई प्रत्येक दिन, हप्ता, महिना र प्रत्येक वर्षको गोरक्ष पूर्णिमा वा वैशाख शुक्ल पूर्णिमाका दिनमा सवालाख रोट अर्पण गरिन्छ । सवा सङ्ख्या गुरु गोरखनाथलाई मन पर्ने हुनाले नै सवालाख रोट चढाइन्छ । रोट महाप्रसाद हो । सद्गुगुरुदेवको चरणकमलमा अर्पित रोट खान पाउनु मानवजीवनको उच्च सौभाग्य मानिन्छ ।  

   महाप्रसाद रोट ग्रहण गर्नाले हुने शारीरिक, मानसिक र आध्यात्मिक फाइदा वर्णनातीत छन् । ३२ थरी मसला र जडीबुटी मिसाएर बनाइने हुनाले पनि रोटको विशेष महत्व हुन्छ । काजु, किसमिस, छोकरा, नरिवल, ल्वाङ्, सुकुमेल आदि फलादि गुणले युक्त छन् । यी वस्तुलाइ विभिन्न आयुर्वेदिक खुराकमा पनि मिसाइएको पाइन्छ । जडिबुटी लगायतको मिश्रणबाट शुद्ध घ्यूमा तयार हुने रोटको विशेषतालाई शब्दमा भने कैद गर्न सकिन्न । सेवन गरेर नै यसको महत्वलाई आँक्न सकिन्छ ।  
  काठमाडौँमा गुरु गोरखनाथको प्रसिद्ध मन्दिर पशुपति परिसरको मृगस्थलीमा रहेको छ । गुरु गोरखनाथलाई हठ योगका प्रवर्तक मानिन्छ । साथै नाथ पन्थको सुरुवात पनि उहाँ बाटनै भएको मानिन्छ । यस पन्थबाट अघोर पथ जस्ता पन्थ निस्केका छन् । नाथपन्थी साधु नेपालमा प्रशस्त छन् । काठमाडौँ महानगरपालिका वडा नं. ११ थापाथलीस्थित गुरु गोरखनाथ मन्दिर क्षेत्रमा पनि आज पूजा आराधनाका साथै रोट अर्पण पनि गरिएको छ । यसैगरी हाँडीगाउँस्थित गोरखनाथ पीठमा पनि पूजा, आराधनासहित रोट अर्पण गरिएको जनाइएको छ ।