काठमाडौँ, जेठ १० गते । सहकारीको रकम अपचलनको विषयमा छानविन गर्न गठन भएको संसदीय समितिको बैठक आज बस्ने भएको छ । संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बिहिबार दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने भएको हो ।

यसअघि सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरूबीच कार्यदेशमा सहमति जुट्न नसक्दा बैठक निष्कर्षबिहीन बनेका थिए । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उहाँ मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएपछि सहमति हुन सकेको छैन ।

यसअघि मङ्गलवार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले सत्तापक्षलाई कार्यदेशको मस्यौदा ल्याउन भनेको थियो । बैठकपछि कार्यदलका संयोजक एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले काङ्ग्रेस लचिलो बनेको संज्ञा पाएको जनाउँदै आजको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको थियो । अतः आजको बैठकलाई चासोका साथ लिइएको छ ।