सिन्धुपाल्चोक, जेठ ९ गते । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन् ।

स्थानीय बुद्धरानी तामाङले स्थानीयले मात्र नभएर पर्यटकले समेत धेरै समस्या भोग्दै आएकामा झोलुङ्गे पुल निर्माणपछि सहज भएको बताउनुभयो । “हिउँदको समयमा फड्केलगायत अन्य माध्यमबाट पुल तर्दै आए पनि बर्खायाममा अत्यधिक समस्या हुने गरेको थियो । गाउँपालिकाले पुल बनाइदिएपछि ज्यान जोखिममा राखेर खोला तर्ने गरेका स्थानीय निकै खुसी छौँ”, उहाँले भन्नुभयो ।

नवनिर्मित झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको रु ६० लाख बजेटमा पुल निर्माण भएको जानकारी दिनुभयो । उहाँले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङ«ी र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताउनुभयो । “स्थानीयको मागलाई क्रमशः पूरा गर्दैछौँ । काकताङकुक्तङमा झोलुङ्गे पुल निमार्ण, लार्केसम्मको सडक विस्तार तथा सोलिङ, बत्ती, पाहुनाघर निर्माण भइसकेका छन् । हालसम्म गाउँपालिकाले ११ वटा पुल निर्माण गरिसकेक्यौ, अब काठको पोल विस्थापित गर्ने, याङ«ीमा पक्की पुल निर्माण गर्ने, बुद्धपार्कलगायत पर्यटकीयस्थलको पहिचान र प्रवर्द्धनका काममा लाग्छौँ”, अध्यक्ष लामाले भन्नुभयो ।

गाउँपालिकाको रु ६० लाख र स्थानीयको जनश्रमदानबाट बनेको एक सय १३ मिटर झोलुङ्गे पुलको निर्माणले पयर्टन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो । उहाँले अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्देश्य रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, वडाका जनप्रतिनिधिलगायत स्थानीयको उपस्थिति थियो ।