फाइल तस्वीर
काठमाडौँ, जेठ ९ गते । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आज केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज बुधबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा संयुक्त बैठक बस्न लागेको हो ।

आजको बैठकमा सहकारी ठगी प्रकरणका साथै कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाशप्रसाद सिरोहीयाको गिरफ्तारीलगायत देशको समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।

काङ्ग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछानेसहित सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानविन समिति गठन गरेर कारवाही गर्नुपर्ने मागराख्दै गत हिउँदे अधिवेशनदेखि संसद्को बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी काङ्ग्रेसकै कारण आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको आय व्यव विवरण (बजेट) अध्यादेशमार्फत सार्वजनिक गर्नुपर्ने अवस्था देखिएको छ । संसदको जारी अवरोध नहटे सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्ने तयारीसमेत गरेको छ ।

संसदमा देखिएको सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको टकरावले मुलुकको राजनीतिले नयाँ मोड लिन सक्ने आङ्कलन गर्न थालिएको छ । लोकतान्त्तिक शक्तिहरु संसदमै मुटभेडमा उत्रिनु र पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियतालाई बढावा दिनुलाई पनि अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

देशका ठूला राजनीतिक दलहरुको असहिष्णुता, अप्रजातान्त्रिक गतिविधिले मुलुकको राजनीति भविष्यमाथि कालो बादल मडारिन थालेको छ । लोकतन्त्रप्रति विश्वास राख्ने, प्रजातान्त्रिक अभ्यासबाट खारिएको नेपाली काङ्ग्रेसको वर्तमान गतिविधिलाई हेर्दा परिपक्क छवि देखाउनबाट चुकेको विश्लेषण गर्न थालिएको छ । काङ्ग्रेसको आज बस्ने संयुक्त बैठकले धमिलिन खोजेको मुलुकको राजनीतिलाई संयमताका साथ व्यवस्थापन गर्नु नै श्रेयकर देखिन्छ ।