काठमाडौँ, जेठ ८ गते । सहकारी ठगी प्रकरणका सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति गरेर विषयलाई टुङ्ग्याउने र सदनको गतिरोध अन्त्य गर्ने सहमति भएको छ । कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलको आज मङ्गलबार बसेको बैठकले यस्तो सहमति गरेको हो ।
उक्त बैठकले सहकारीको रकम अपचलनसम्बन्धी छानविनका लागि बन्ने संसदीय छानविन समितिको टीओआरमा मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भएको नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको हो ।
आजको बैठकमा सत्ता पक्ष र प्रतिपक्षले आ–आफ्नो तर्फबाट प्रस्तुत गरिएको प्रस्तावमाथि छलफल भएको थियो । विवाद समाधानका विषयमा बैठक केन्द्रीत भएको र दुवै पक्षलाई मान्यहुने गरी टीओआर बनाउन नेताहरु सहमत हुनुभएको हो ।
तथापि, टीओआर कुन ‘मोडालिटी’ मा बनाउने भन्ने विषयमा अझै छलफल हुने र दुवै पक्षबाट टीओआरको मोडालिटी बनाउने र बैठकमा छलफल गरी त्यसलाई अन्तिम रुप दिने बताइएको छ । बैठक आजै अपरान्हतिर बस्ने भएको छ ।