काठमाडौँ, जेठ ८ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा आज मङ्गलबार बिहान ११ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यसूची रहेको छ । साथै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुहुने सम्भावित कार्यसूची छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नुहुने कार्यसूची रहेको छ ।

आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।


त्यसैगरी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

ppp