काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाका बैठकमा पेश गरिएको विश्वासको मतको प्रस्ताव पास भएको हो ।

प्रधानमन्त्रीले आज सोमबार समेतगरी चार पटक प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका बीच प्रधानमन्त्रीको पक्षमा एक सय ५७ मत परेको थियो ।

कुल दुईसय ७५ सांसद् सङ्ख्या रहेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्तावमा भागलिने सांसद्हरुको सङ्ख्या एक सय ५८ जना रहेको थियो । नेपाली काङ्ग्रेसले संसद् अवरुद्ध गरेता पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावलाई अघि सार्नुभएको थियो । प्रधानमन्त्री पक्षमा एक सय ५७ मत र विपक्षमा एक मत परेको थियो ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै उक्त पार्टीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत प्रस्ताव पेश गर्नुभएको थियो ।