काठमाडौँ, जेठ ६ गते । प्रमुख विपक्षी दलहरूको आज बसेको बैठकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ । आज आइतबार बिहान नयाँ बानेश्वरस्थित काङ्ग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई बोल्न दिने र उहाँको कुरा सुन्ने विपक्षी दलहरूको निर्णय भएको छ, र उहाँको कुरा चित्त बुझ्यो भने सदन अघि बढाउने समझदारी बताउनुभयो ।

यसअघि शनिबार साँझ सत्तारुढ र प्रतिपक्षी दलहरूबीच संसदीय समिति बनाउने सहमति भएको थियो । सोही समितिको टीओआर बनाउन ४ सदस्यीय टोली समेत गठन भएको थियो । सो कार्यदलले आइतबार बिहानैबाट छलफल गरिरहेको छ । कार्यदलमा भइरहेको छलफलमा कार्यादेशमा सहकारी हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्नेमा छलफल भइरहेको बताइएको छ ।