फाइल तस्वीर
काठमाडौँ, जेठ ५ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलका शीर्ष नेताहरूसँग छलफल गर्ने हुनुभएको छ । सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता र सोही विषयलाई लिएर संसदीय छानविन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गर्दै आएको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुखले दलका शीर्ष नेताहरुलाई आफ्नै निवासमा बोलाउनुभएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाउनु भएको हो ।

काङ्ग्रेसले गएको हिउँदे अधिवेशनदेखि नै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । काङ्ग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । बैठक भोलि आइतबारका लागि बोलाइएको छ । बैठक सुचारु गर्ने विषयमा छलफल गरी सहमतिको बाटो खोज्न सभामुख घिमिरेले आज शीर्ष नेताहरुलाई बोलाउनुभएको हो ।