काठमाडौँ, जेठ ४ गते । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बिहान ११ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली काङ्ग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । हिजोको बैठक सुरु हुनासाथ काङ्ग्रेसका सांसदले नाराबाजी सुरु गरेका थिए । काङ्ग्रेसको नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाउँदै राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू पढेर सुनानुभएको थियो ।

pp

त्यसपछि उहाँले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठेका प्रश्नका बारेमा जवाफ दिन समय दिएपछि काङ्ग्रेस सांसद थप आक्रोशित बनेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले काङ्ग्रेसका सांसदलाई सम्झाउन अघि बढ्नासाथ काङ्ग्रेसका उपसभापति धनराज गुरुङले ओलीको प्रतिवाद गरेपछि संसद्मा धकेलाधकेलको स्थिति सिर्जना भएको थियो ।

काङ्ग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले अस्वीकार गर्दै आएकाले आजको बैठक पनि सुचारु हुनेमा आशङ्का कायमै छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नुहुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेकोे छ ।

त्यसैगरी सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको हो ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदाका कार्यसूची रहेका छन् ।

यसअघि हिजो बसेको बैठकमा नेपाली काङ्ग्रेसले अवरोध गरेको थियो ।

rr