भैरहवा, जेठ ३ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा आज भैरहवामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले ठूला अर्थतन्त्र भएका चीन र भारतबीच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हाँसिल गर्ने सक्ने सम्भावना धेरै रहेको छ भन्नुभयो । फरक प्रसङ्गमा बोल्दै नेता डा रिजालले आउँदो निर्वाचनमा काङ्ग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले विगतका निर्वाचनमा काङ्ग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण काङ्ग्रेसको मत घटेको बताउनुभयो । नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुुशील गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।