लुम्बिनी, जेठ ३ गते । राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोक्काले हात पारेका छन् । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ३१औँ स्मृति दिवसका अवसरमा आज बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको उनीले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए । म्याराथनमा च्याम्पियन बनेका रोक्काले एक लाख पुरस्कार हात पारेका छन् । ‘सबैका लागि खेल’ भन्ने नारासहित आयोजना गरिएको म्याराथनमा १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेर सेनाकै नरेन्द्र रावत दोस्रो भइ ७५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै सेनाकै रामजी बस्नेतले एक घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भई ५० हजार पुरस्कार प्राप्त गरेका छन । हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौँथो,सेनाकै श्रीष लाल पाँचौँ तथा सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैटौंँ स्थान प्राप्त गरेका छन् ।

चौथो बनेका बुढाले ३० हजार, पाँचौंँ बनेका श्रीष लालले २० हजार र छैटौंँ बनेका बोगटीले १० हजार पुरस्कार प्राप्त गरेका छन् । बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटीमा समापन भएको थियो । प्रतियोगिता संयोजक तथा एकेडेमिका एथ्लेटिक्स विभाग प्रमुख मोहनबहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसका अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगिता समेत आयोजना गरेको थियो ।

यसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दुरीकै कलेजस्तरीय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरीय खुल्ला छात्र र तीन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो । सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौंँसम्म हुने खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट धावकलाई एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गर्नुभएको थियो ।