काठमाडौँ, जेठ ३ गते । प्रमुख प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण राष्ट्रियसभा बैठक आज पनि बस्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सहकारी प्रकरणसम्बन्धी गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरोध गर्दै आएको हो ।


त्यसपछि अध्यक्ष दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएकोले यसबाट नराम्रो सन्देश गएकाले सांसदहरुलाई आसनमा बस्न आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालको उक्त आग्रहलाई बेवास्ता गर्दै प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सांसदहरूले आसनमा नबसी एकोहोरो विरोध गरेपछि भोलिका शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको छ ।