धनगढी, जेठ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान १०ः३० बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको हो ।
एकीकृत समाजवादीका संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । तर एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको हो ।

गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नुभएका सोडारीलाई नेकपा एमालेको हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने निर्णय गरेपछि आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची छ । एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप पनि जारी गरेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्यको समर्थन चाहिन्छ । सोडारीको पक्षमा नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र एक र एकीकृत समाजवादीका चार सांसदको समर्थन छ ।