फाइल तस्वीरः एमाले संसदीय दलको बैठक।


काठमाडौँ, जेठ २ गते । सरकारको मुख्य ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काङ्ग्रेसले गरेको अवरोधको प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।

आज बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले संसदमा काङग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने उल्लेख गर्दै अब प्रतिरोध गर्ने चेतानवी दिनुभएको हो ।

बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले — ‘नेपाली काङग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन ।यस्तो पनि हुन्छ ? अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’ भन्दै प्रमुख प्रतिपक्षी दलप्रति कटाक्ष गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले संसद सुचारु हुनुपर्छ भन्नुहुँदै काङग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट गरेको आरोप समेत लगाउनुभएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले अब संसदमा काङ्ग्रेसलाई बोल्न नदिने उल्लेख गर्दै संसदमा गृहमन्त्री रवि लामिछानेले बोल्ने र गृहमन्त्रीले बोल्न नपाए एमालेले बोल्ने जिकिर गर्नुभयो ।

संसदीय दलको बैठकमा बोल्दै एमाले संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष ओलीले भोलि बिहीबारदेखि एमाले सांसदहरु बहस गर्न तयार भएर संसदमा जान निर्देशन दिंदै उहाँले भन्नुभयो — ‘हामी बहस गर्न तयार भएर जान्छौं, संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरु कुरा छैन ।’