फाइल तस्वीर


काठमाडौँ, जेठ २ गते । सङ्घीय संसद्को संयुक्त बैठकमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ ९ गते बुधबार पारित गर्ने तयारी गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोलि हुने प्रतिनिधिसभाको बैठकलाई सूचारु गर्न सहमती जुटमा खण्डमा जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुने र ९ गते पारित गर्ने तयारी भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सत्तासाझेदार दलको बैठक राख्ने र संसदमा उत्पन्न गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्नुहुने भएको छ । सत्तारुढदलको आज बस्ने बैठकले काङ्ग्रेसको मागलाई सम्बोधन गर्ने निर्णय भएमा भोलिबाट सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने छ । भोलि जेठ ३ गतेदेखि प्रतिनिधिसभा बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने छ ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएपछि ९ गते पनि छलफल गर्ने, सो दिन शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्रीको जवाफ पछि सरकारको नीति तथा कार्यक्रम पारित हुने बताइएको छ।

यसैगरी, जेठ १३ गते शून्य समय, विशेष समय, आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक सर्वेक्षण पेश, बैंक तथा वित्ती संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्, राष्ट्रियसभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने भएको छ ।

संविधानमा उल्लेख भएअनुसार सरकारले जेठ १५ गते मङ्गलबार आगामी आर्थिक वर्ष २०८१÷०८२ को आय ÷ व्ययको वार्षिक अनुमानको बजेट सार्वजनिक गर्नेछ ।