प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरे ।
काठमाडौँ, जेठ २ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससँग सहमति गर्न आग्रह गर्नुभएको छ । काठमाडौँको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान भएको छलफलका क्रममा सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गराउँदै प्रमुख प्रतिपक्षी दलसँग सहमति गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच आज बिहानको छलफल संसद अवरोधकै विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलका अवसरमा सभामुख घिमिरेले विधेयक पारित हुन नसकिरहेको बेला संसद अवरोध हुँदा जनस्तरमा वितृष्णा फैलिएको भन्दै प्रधानमन्त्रीलाई सहमतिका लागि सुझाउनु भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो मङलबारको सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि सरकारको नीति तथा कार्यक्रम पेश गरेपछिको अर्को बैठकमा काङ्ग्रेसले अवरोध गरेपछि संसद बैठकले राष्ट्रपतिलाई धन्यवाद समेत दिन पाएन । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसले सरकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ । गत हिउँदे अधिवेशनदेखि संसद् अवरुद्ध गर्दै आएको काङ्ग्रेसले सरकारले संसदीय छानविन समिति गठन नगर्दासम्म सङ्घीय संसद्का दुवै सदन चल्न नदिने अडान राख्नै आएको छ ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको र भोलि बिहीबार बस्ने संसद् बैठक सुचारु एउटा निर्णय पुग्ने जानकारी गराउनुभएको थियो ।