फाइल तस्वीरः सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।
धनगढी, जेठ १ गते । सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी एमालेले नेकपा एकीकृत समावजादीबाट सुदूरपश्चिमका मुख्यमन्त्री बन्नुभएका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासको मत दिने तयारी भएको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले बताउनुभएको हो ।

पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ । सचेतक साउँदले भन्नुभयो ‘केन्द्रको निर्देशन विश्वासको मत दिने भनेर आएको छ । अव हामी दायाँबायाँ गर्दैनौँ’,साउँदले भनिन्, ‘उक्त दिन सबै सदस्यलाई प्रदेश सभा बैठकमा उपस्थित हुन समेत भनिएको छ ।’ यद्यपि एमाले प्रदेश संसदीय दलको बैठक बसेर औपचारिक निर्णय भने गर्न बाँकी नै छ ।

सोडारी वैशाख ६ गते एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री सोडारीले वैशाख २१ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर एमालेले विश्वासको मत लिन अहिले नै नहतारिन आग्रह गरेपछि विश्वासको मत लिने कार्यक्रम स्थगन भएको थियो ।

मुख्यमन्त्री सोडारीले यही जेठ ३ गते बिहीबार प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने तयारी भएको छ । प्रदेशसभा बैठक जेठ ३ गते बिहीबारका लागि बोलाइएको छ ।

त्यसबेला एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाको किरियाकर्ममा रहेको र मुख्यमन्त्रीले सल्लाह नगरेको भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेशसभाको बैठक स्थगित हुन पुगेको थियो ।