काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल भइरहेको छ । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले सक्रिय भएर काङ्ग्रेससँग संवाद जारी राख्नुभएको हो ।

आज बस्ने संसद् बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न अहिले बिहान ९ बजे काङ्ग्रेस संसदीय दलको बैठक बस्दै छ । संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुग्नुभएको हो । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डको बोलाहटमा बालुवाटार पुगेको बताइएको छ ।

आज अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि काङ्ग्रेस नेताहरूसँग छलफल गर्न लाग्नुभएको उहाँको नीजि सचिवालयले जनाएको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै काङ्ग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ । छानबिन समिति नबन्दासम्म संसद्मा जारी अवरोधलाई निरन्तरता दिने अडान लिएको काङ्ग्रेसले आज सदनमा के कसरी प्रस्तुत हुने भनेर अहिले बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने तयारी गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ।