फाइल तस्वीर: एमालेका प्रमुख सचेतक महेश बर्तौला ।


काठमाडौँ, वैशाख ३० गतेः सत्ता साझेदार प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले माग गरेको छानविन समितिको गठन नहुने बताउनुभएको छ । विवाद समाधान गरी संसद् सुचारु गर्न आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाउनु भएको छलफल पश्चात् सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा एमालेका प्रमुख सचेतक बर्तौलाले छानविन समिति नबन्ने बताउनुभएको हो ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक बर्तौलाले काङ्ग्रेसले आत्महत्या नै गर्छु भनेपनि उक्त माग पूरा नहुने जिकिर गर्दै भन्नुभयो — ‘काङ्ग्रेसले आत्महत्या गर्छु भन्ने जसरी नै प्रस्तुत भएपनि यो माग पूरा हुने म देख्दिँन । यो माग कानुनसम्मत पनि छैन, नियमसम्मत पनि छैन ।’

नेता बर्तौलाले काङग्रेसले छानविन समिति बनाउने नाममा सरकार मागेको दावी समेत गर्नुभयो । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै एमाले प्रमुख सचेतक बर्तौलाले भन्नुभयो —‘नेपाली काङग्रेसले समिति माग गरेको होइन, समितिको नाममा सरकार माग गरेको हो । त्यो कुरा सम्भव छैन ।’

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै निरन्तर छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सहकारीमा ठगि प्रकरणका विषय वस्तु उठान गर्ने भन्दापनि काङ्ग्रेसले गृहमन्त्रीमाथि छानविन गर्न माग गर्दै आएको छ।