काठमाडौँ, वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भेटवार्ता भएको हो ।

उहाँहरुबीच भएको भेटवार्तामा संसद बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

भेटवार्तामा काङ्गे्रस नेताहरुले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने लगायतका आफ्ना मुद्दाबारे जानकारी गराउनुभएको थियो । काङ्ग्रेसका मागका सन्दर्भमा प्रधानमन्त्री दाहाल सकारात्मक रहनुभएको नेता लेखकले बताउनुभयो । सो सम्बन्धमा काङ्ग्रेसको सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल तथा निर्णय हुने उहाँले बताउनुभयो ।  

काङ्ग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकारले आगामी जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ । त्यसअघि सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालले काङ्ग्रेसका सभापति देउवासहितका नेताहरुसँग आज छलफल गर्नुभएको हो ।