काठमाडौँ, वैशाख २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली काङ्ग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिनुभयो ।

थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनैपनि कारबाही अगाडि बढाउने कुरामा काङ्ग्रेसको साथ नहरने स्पष्ट पार्नुभयो ।  “सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहदैन । यसको जिम्मेवार काङ्ग्रेस होइन, सत्तापक्ष हो”, उहाँले भन्नुभयो । संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उहाँको भनाइ थियो । 

सांसद थापाले भनाइ राख्नु भएपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली कांग्रेसका सांसदहरु ‘रोष्ट्रम’ घेराउ गर्न पुग्नुभएको थियो । त्यसपछि सभामुख घिमिरेले आजको बैठक १५ मिनेटका लागि स्थगन गरेको घोषणा गर्नुभयो ।