काठमाडौँ, वैशाख २८ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाइएमा नेपाली काङ्ग्रेसले तत्काल राजीनामा माग गर्ने टिप्पणी गर्नुभएको छ । आज शुक्रबार संसद् बैठक बस्नुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।साथै, ओलीले काङ्ग्रेसकै सनकका भरमा कुनैपनि समिति नबन्ने पनि दाबी गर्नुभयो । ‘कसैलाई धक्का पर्यो भन्दैमा यस प्रकारको छानबिन गर्ने?’, उहाँले भन्नुभयो,, ‘उजुर पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुर पर्छ ।’


उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनुभएका लामिछानेमाथि प्रश्न उठाउने तर बोल्न समेत नदिने गरेर अराजनीतिक व्यवहार गरिरहेको बताउँदै प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन, नेपाली काङ्ग्रेसको यस्तो तरिका फेयर छैन, छानबिन र कारबाही गर्नु स्वाभाविक भएको भन्दै कसैलाई धक्का र सनक चढेका भरमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्ने बताउनुभयो ।