काठमाडौँ, वैशाख २८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विशेष महाधिवेशन अनिश्चित भएको छ । करिव अढाईं वर्षअघि काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले छ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको भएता पनि अहिलेसम्म उक्त पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा अन्योलता बढ्दै गरेको हो ।

वि.सं. २०७८ पुस तेस्रो साता सम्पन्न आठौँ महाधिवेशन पछि पार्टी नयाँ कार्यदिशाका साथ अघि बढ्ने र पार्टी रुपान्तरण हुने भनिएता पनि माओवादी पार्टी महाधिवेशन पूर्व जस्तो अवस्थामा थियो सोही अवस्थाभन्दा फरक भएको जनता र स्वयम् पार्टीका नेता कार्यकर्ताहरुले समेत अनुभूत गर्न सकेका छैनन् । विशेष महाधिवेशन अनिश्चित बन्नुको कारण देशको राष्ट्रिय राजनीतिको पनि एउटा हो । पार्टी अध्यक्ष स्वयम सरकारको नेतृत्वमा रहेकाले पछि पार्टीका कामहरु अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको एकाथरीको विश्लेषण छ । त्यसोतः पार्टी सङ्गठनलाई बलियो बनाउनु पर्नेमा नेतृत्व नै राष्ट्रिय राजनीतिमा अलमलिन पुग्दा पार्टीको विशेष महाधिवेशन अनिश्चित बन्दै गएको हो भन्ने कुरालाई नकार्न सकिन्न ।


नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनलाई पहिलो प्रथम राष्ट्रिय सम्मेलनको रुपमा आयोजना गरेको थियो । तर राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरी पाँच दिनसम्म महाधिवेशनको बैठक भएको थियो । त्यसबेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवादलाई मन्थर पार्न छ महिनाभित्र विधान अधिवेशन र विशेष महाधिवेशन गर्ने घोषणा गर्दै आठौं महाधिवेशन अन्त्य भएको थियो ।

त्यसोत, महाधिवेशन भएको दुई वर्षपछि फागुनको पहिलो साता काठमाडौँमा विधान अधिवेशन गरी नयाँ विधान बनाएको माओवादी केन्द्रले विधान कार्यान्वयनका लागि विशेष महाधिवेशन गर्नुपर्नेमा अहिलेसम्म कुनै तयारी समेत गरेको छैन । सबै प्रदेशमा नियमित अभियान सञ्चालन भइरहेका विशेष अधिवेशन गर्ने सम्बन्धमा पार्टीले पछि निर्णय गर्ने बताइएको छ ।

विशेष महाधिवेशन सम्पन्न गरेर पालिका, प्रदेश अधिवेशन गर्ने कि महाधिवेशन गरेर पालिका तथा प्रदेश अधिवेशन गर्ने भन्ने विषयमा पार्टीमा अहिलेसम्म छलफलसम्म हुन सकेको छैन । यद्यपि, नयाँ विधान कार्यान्वयनका लागि विशेष महाधिवेशन गर्न अब पार्टीले निर्णय गर्ने नेताहरुको भनाइ छ । पार्टीका नियमित कामहरू नयाँ विधान अनुसार भइरहे पनि पार्टीका कमिटी विशेष महाधिवेशनपछि मात्र लागू हुने बताइएको छ ।

पार्टी महासचिव देवप्रसाद गुरुङका अनुसार माओवादीले विशेष महाधिवेशनका लागि आन्तरिक रुपमा तयारी गरिरहेको छ । देशका सबै सातै प्रदेशमा सदस्यता नवीकरण, सङ्गठन सुदृढीकरणका काम भइरहेता पनि महाधिवेशन कहिले गर्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।
विधान अधिवेशनले दुई सय ९९ जना सदस्यको केन्द्रीय समिति हुने व्यवस्था गरेको थियो । पार्टी पदाधिकारीको सङ्ख्या ११ जनामा सीमित गरेको माओवादी केन्द्रले पदाधिकारी बाहेक सबै केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट हुने व्यवस्था समेत गरेको छ । तर उक्त पार्टीमा अहिलेसम्म चार सय नौ जनाको केन्द्रीय समिति कायमै छ । यो समिति महाधिवेशनसम्मका लागि कायम रहने छ ।
गत साउन तेस्रो साता सम्पन्न केन्द्रीय समिति बैठकले मङ्सिरमा विधान अधिवेशन र फागुन–चैतमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर देशको अस्थिर राजनीतिका कारण पार्टीले गरेका कुनै पनि निर्णयहरु कार्यान्वयन भएको देखिंदैन । माओवादी भित्र मौलाएको चरम गुटबन्दीले पार्टीको साङ्गठनिक पक्ष निकै कमजोर बन्दै गरेको र पार्टीको शक्ति पनि क्षयीकरण हुँदै गएको स्वयम नेता कार्यकर्ताहरुको भनाइ छ ।

माओवादी केन्द्रले आफुलाई जुन रुपले मुलधारको राजनीतिमा पकड जमाउनु पर्ने थियो, पार्टी सङ्गठन कमजोर हुँदै जाँदा सफलता प्राप्त गर्न सकेको छैन । भलै २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन पश्चात् तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुष १० गते बनेको सरकार विभिन्न आरोह अवरोहबीच पनि अहिलेसम्म चलिरहेको छ । पटक पटकको सत्ता समीकरणमा आएको फेरबदलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ध्यान पार्टीलाई बलियो बनाउने भन्दा पनि सत्तारोहणको समयलाई कसरी लम्ब्याइ राख्ने भन्नेमै केन्द्रीत भएको पार्टी नेता कार्यकर्ताको ठम्याइ छ । माओवादी नेतृत्वले सरकारको नेतृत्वलाई आत्मरतिको सफलता मान्ने कि पार्टी सङ्गठन बलियो बनाएर मुलधारको राजनीतिमा स्थापित हुने भन्ने बुझ्नु पर्ने आवश्यकता छ ।