फाइल तस्वीरः नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्की ।
विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना सांसदको हस्ताक्षर सनाखत गर्नुभएसँगै एमाले प्रदेशसभा सदस्य कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आज बिहान एमालेका ३९ जना र माओवादी केन्द्रका १३ जना गरी ५२ जना सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दावी गर्नुभएको थियो । एमाले नेता कार्की दुई वर्षको अवधिमा तेस्रो पटक मुख्यमन्त्री बन्नुभएको छ ।

‘संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि कुल प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरूको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान बमोजिम मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन गर्न बहुमत प्रदेश सभा सदस्यहरूको समर्थन रहेको हुँदा तोकिएको म्यादभित्रै झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य म हिक्मतकुमार कार्की कोशी प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेको छु’, कार्कीले खापुङसमक्ष बुझाएको पत्रमा उल्लेख थियो ।

प्रदेश प्रमुख खापुङले हिजो बुधबार साँझ दुई दिनको समयसीमा तोकेर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आज बिहीबार अपरान्ह पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

यता निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएकोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।