फाइल तस्वीर
मोरङ, वैशाख २७ गतेः कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।

“संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्र्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ ।” प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदल पछि सबै प्रदेश सरकारमा त्यसको प्रभाव परेको छ । यसै अनुरुप कोशी प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको हो । कोशीमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुको बहुमतले नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दावी प्रस्तुत गरिएको छ ।

उक्त प्रदेशमा यतिबेला नेपाली काङ्ग्रेसका नेता केदार कार्की मुख्यमन्त्री हुनुहुन्छ । कार्की काङ्ग्रेस नेता डा. शेखर कोइराला पक्षधर मानिनुहुन्छ ।