नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण सम्पन्न भएको पुल ।
भरतपुर, वैशाख २७ गते : नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन चारवटा पुल निर्माणको काम तिव्रगतिमा भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा आइसकेका र बाँकी चार वटा पुल आगामी कार्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणकार्यलाई तिव्रता दिइएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको उहाँले बताउनुभयो ।

खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले धेरै समय लाग्ने भएको हो । इन्जिनियर आचार्य कात्तिक मसान्तसम्ममा तुइन खोलाको काम सकिने बताउनुहुन्छ छ । यो सडकखण्डमा १९ वटा पुल छन् ।

विश्व बैंकको ऋण सहयोगमा ती पुल निर्माण गरिएका हुन् । इन्जिनियर आचार्यका अनुसार सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत ११ मिटर फराकिलो बनाइएको छ । तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । विगतका वर्षहरुमा पहिरोको कारण वर्षायाममा धेरै सास्ती बेहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिला भएसँगै केही सहज हुँदै आएको छ ।