फाइल तस्वीर
काठमाडौँ वैशाख २६ गतेः सरकारले वैशाख ३० गते आइतबार आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । संविधानमा व्यवस्था भए अनुसार सरकारले आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुपर्ने भएकोले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको हो ।

आगामी आर्थिक वर्षका लागि सरकारका तर्फबाट राष्ट्रपतिले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्नु पूर्व सरकारको आगामी नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ । सोही अनुसार वैशाख ३० गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आगामी आर्थिक वर्षका लागि सबै योजना तथा कार्यक्रम सबै सम्बन्धित निकायबाट सङ्कलन गरिसकेको छ ।

सरकारले पर्सी वैशाख २८ गते शुक्रबारका लागि बजेट अधिवेशन आह्वान गरिसकेको छ ।