फाइल तस्वीर
काठमाडाँै, वैशाख १४ गते । रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आउनुभयो । देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आउनुभएकी उहाँलाई सोचेजस्तो सजिलो भएन । धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि उहाँले अन्तिम विकल्पका रूपमा एउटा क्याट्रीनमा काम गर्नुभयो ।
निकै मिहेनतपछि हातमुखजोर्ने जागीर पाएपछि को खुसी नहोला ! त्यस्तै खुसी थियो उहाँमा पनि । सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमिक नपाएपछि भने उहाँ खिन्न हुनुहुन्छ ।

“कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारिरीक र मानसिक दुर्व्यवहार सहनुपरेको छ”, उहाँ भन्नुहुन्छ । न समयको टुङ्गो, न कामअनुसारको दाम । त्यसैमा विवाहका लागि काठमाडौँका ब्याङ्क्वेटमा खटिदाँ फरक फरक स्वभावका मान्छेहरूसँग ठोकिन पुग्दा गलत नियत राख्नेहरूसँग जोगिनु अर्को जोखिम रहेको डोमाको भनाइ छ ।
“कामगर्दा कार्यरत संस्थामा भोग्ने समस्या त छँदैछन् । त्योबाहिर पनि सुरक्षित अवस्था छैन । पछिल्लो समय त क्याट्रीनसम्म मानव बेचबिखन गर्ने बिचौलीया छिरेकाले हामी महिला थप जोखिममा छौँँ”, उहाँले रासससँग भन्नुभयो ।

शुक्रबार काठमाडौँमा शुभअवसर ग्राम नेपालले आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जन क्षेत्रका पेशागत पीडित सहभागीले यस्तै समस्या व्यक्त गरेका थिए ।
रामेछापकै रबिना तामाङले डोमाको जस्तै गुनासो गर्नुभयो । स्नातक तह अध्ययन गरिरहेको बताउनने उहाँ पनि काठमाडौँको एउटा क्याट्रीनमा कार्यरत हुनुहुन्छ । तोकिएको समयभन्दा बढी परिश्रम गर्नुपर्ने बाध्यताले पढाईमा निकै समस्या भएको तर अर्को विकल्प नहुँदा दुखजिलो गरेर काम गरिरहनुपरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पढ्ने रहर छ तर समय पुग्दैन । न त परिश्रम गरेजति पारिश्रमीक पाइन्छ ।”

विराटनगरकी सुनिता खड्काले पनि मनोरञ्जन क्षेत्रमा काम गरेको लामो समय भयो । सो अवधिमा श्रम शोषण मात्रै होइन शारिरीक र मानसिक दुर्व्यवहारसमेत भोग्नुपरेको उहाँले सुनाउनुभयो । मनोरजञ्जन क्षेत्र आफैँमा नराम्रो होइन तर यस क्षेत्रका सञ्चालकहरूले व्यवसायलाई व्यवस्थित बनाउन समस्या भइरहेको उहाँको भोगाइ छ । “मनोरञ्जन क्षेत्रमा धेरै महिला जोखिमपूर्ण अवस्थामा छन् । तोकिएको समयभन्दा बढी श्रम गर्दा पनि न समयमा तलब पाइन्छ, न त सम्मान नै । त्यसैले हाम्रो पेशागत सुरक्षा कसले गर्ने रु”, उहाँको प्रश्न छ ।

अधिकारकर्मी रसना ढकाल भने मनोरञ्जन पेशा कलाकार जन्माउने क्षेत्र भएकाले सोहीअनुसार उचित सम्मान र पारिश्रमिकको व्यवस्था हुनुपर्ने धारणा राख्नुहुन्छ । मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा किशोरीले कोठा नपाउने, कोठा खोज्नकै लागि ‘लिभिङ टुगेदर’ बस्नुपर्ने, त्यसरी बस्दा थुप्रै अपराधीक गतिविधि निम्तिएका उहाँले बताउनुभयो । “उहाँहरूले नियुक्ती पत्रसमेत पाउनुभएको छैन, समयमा तलब पाउने कुरा त परैजाओस्”, रसनाले भन्नुभयो,“मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन व्यवसाय सञ्चालकदेखि राज्यका हरेक निकाय सचत हुन जरूरी छ ।”

काठमाडौँ महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीले महानगरले गरेको अनुगमनमा डान्सबार, होटलका तथा मनोरञ्जन क्षेत्रमा कामगर्र्ने किशोरीहरू बढी असुरक्षित रहेको बताउनुभयो । यस्ता क्षेत्रमा कामगर्ने महिला तथा किशोरीलाई आत्मनिर्भर बनाउनुका साथै पेशालाई व्यवस्थित र मर्यादित बनाउने महानगरको योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी सबै वडालाई आफ्नो क्षेत्रमा रहेका डान्सबार र रेष्टुरेन्टको अवस्थाबारे अनुगमन गर्न निर्देशनसमेत दिइएको उहाँको भनाइ छ ।

कार्यक्रममा शुभअवसर ग्राम नेपालका प्रतिनिधि रञ्जना शर्माले सन् २०२३ मा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको अवस्थामाथि अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा पुरुषमध्ये धेरैले नियुक्ती पत्र नपाएको, शारिरीक र मानसिक शोषण खेप्नुपरेको, समयमा तलब नपाएको, सम्मानजनक व्यवहार नभएजस्ता समस्या अनुसन्धानले देखाएको शर्माले उल्लेख गर्नुभयो ।