प्रतिकात्मक तस्वीर
गाईघाट, वैशाख १४ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो ।

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख र छोरा रमेशको घरमा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।