काठमाडौँ, वैशाख १४ गते । आज शुक्रबारदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु हुँदैछ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ एक लाख ९६ हजार ९ सय १४ छात्रा र एक लाख ९३ हजार ९ सय ३३ छात्र गरी तीन लाख ९० हजार ८ सय ४७ परीक्षार्थी रहेका छन् भने बाँकी ग्रेड वृद्धितर्फका विद्यार्थी रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको छ । सदस्य सचिव दुर्गाप्रसाद अर्यालले ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५ सय २६ परीक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो ।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय ४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम मनाङ÷मुस्ताङमा एक–एक परीक्षा केन्द्र रहेको बोर्डले जनाएको छ । बोर्डले यसवर्ष पहिलो पटक स्वचालित प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।