काठमाडौँ, वैशाख १० गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । कोशी, मधेश र बागमती प्रदेशमा दिउँसो आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू—भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी मधेस प्रदेशको तराई भूभागका केही स्थानसँगै कोशी र लुम्बिनी प्रदेशको पनि तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाका साथै हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।