बुटवल, वैशाख ६ गतेः लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री जोखबहादुर महराले आज बिहान ७ जनालाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री महराले आज मन्त्रिपरिषद्मा एमालेबाट दिनेश पन्थी,अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी,स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादी पार्टीबाट भगवती अधिकारीलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गएको चैत २३ गते नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आजको मन्त्रीमण्डल विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।