फाइल तस्वीर
भद्रपुर , वैशाख ४ गतेः पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ । झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने दावी गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले अहिले मुलुकमा देशभक्त राजनीतिक शक्तिहरुको समीकरण बनेको हुँदा यसलाई टिकाएर लैजान आफ्नो पार्टी प्रतिबद्धता रहेको उल्लेख गर्नुहुँदै “हामीले पुरानो गठबन्धन भत्काउनै पथ्र्यो, भत्कायौं । नयाँ समीकरण बनाउनै पथ्र्यो, बनायौँ । धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने । कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्वपूर्ण हो । अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो”— भन्नुभयो ।

देशभक्तहरुको समीकरण भत्काउनका लागि विभिन्न शक्तिहरुले निरन्तर षड्यन्त्र गरिरहेको जिकिर गर्दै पूर्वप्रधानमन्त्री ओलीले लामो राजनीतिक अनुभव र जिम्मेवार अभिभावक शक्तिको कारण एमालेले अहिलेको सत्ता समीकरणलाई देश र जनताको हितमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहसिक निर्णय लिनुभएको उल्लेख गर्नुहुँदै एमालेले घोषणा गरेको ‘मिसन–८४’ राजनीतिक सुझबुझपूर्ण गन्तव्य भएकोले देश र जनताको हितका लागि पार्टीले चुनावमा विजय हासिल गर्न जरुरी भएको बताउनुभयो ।